२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

समाचार

प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश



भीमदत्तनगर, १० चैत ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई आज धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा रु छ लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा रु चार लाख ५० हजार धरौटी सुनाइएको छ ।

“धरौटी तिर्न नसके थुनामा राख्नु भन्ने आदेश भएको छ,” स्रेस्तेदार अवस्थीले भन्नुभयो, “उक्त मुद्दामा प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी अझै अदालतमा उपस्थित भएका छैनन् ।

प्रतिवादी विष्टका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ताद्वय कृष्णदेव जोशी र आनन्दप्रसाद जोशीले बहस गर्नुभएको थियो ।

यसअघि दुवै मुद्दामा आरोपित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित छ जना धरौटीमा रिहा भइसकेका छन् । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिनुभएको थियो ।

निर्मला हत्या प्रकरणमा प्रहरीको जिल्लादेखि केन्द्रसम्मको विशेष टोली अनुसन्धानमै छ । गत साउन १० गते साथीको घरका स्कूलको गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ गते बिहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रकाशित : १० चैत्र २०७५, आइतबार ००:००