तुलसीपुर । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित दाङको लमही आँखा अस्पतालमा कर्मचारी आवास भवनको शिलान्यास गरिएको छ । भवनको सांसद मेटमणि चौधरीले शुक्रबार शिलान्यास गरेको हो ।
सांसद चौधरीले आँखा अस्पताललाई सुविधासम्पन्न गराउन आफूहरुले सक्दो सहयोग गर्ने बताए। उहाँले अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोष, दाङ क्षेत्र नं १ बाट रु ५० लाख रकम यस आर्थिक वर्ष विनियोजन भएको बताए । “आँखा अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउनेतर्फ सबै लाग्नुपर्छ, त्यसका लागि हामीहरुको यो सहयोग पहिलो शुरुआत हो, गुरुयोजना ल्याउनुहोस् थप सहयोग खोज्नेछौँ”, चौधरीले भने ।
सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले प्राप्त सहयोगबाट थप हौसला र अस्पतालको विकास तथा विस्तारमा लाग्न प्रेरित गरेको छ भने । रु एक करोड ८२ लाख खर्च लाग्ने आवास भवन बनाउन यस आर्थिक वर्षमा रु ५० लाख बराबरको काम हुने उपभोक्ता समितिका अध्यक्ष तिलक केसीले जानकारी दिए।
प्रतिक्रिया