घोराही, ३ फागुन । दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी दाङमा कार्यरत प्रहरी हबल्दारले गए राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।
बलात्कार गरेको अभियोग लागेका हबल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिनुभयो । रातिका समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।
घटना अनुसन्धानका क्रममा भएकाले दुवै पक्षको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडितको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताउनुभयो । प्रहरी सङ्गठनले यस घटनालाई लुकाउने प्रयास थालेको पीडित पक्षको भनाइ छ ।
प्रतिक्रिया