अदिस अबाबा, इथियोपिया, २७ माघ । लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटर्रेसले आह्वान गर्नुभएको छ ।
महासचिव गुटेर्रेसले आइतबार उत्तर अफ्रिकी राष्ट्र लिबियामा रहेका विभिन्न गुट तथा समूहहरूलाई राजनीतिक प्रक्रियामार्फत एकीकरण गराउन सकिने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “लिबियाको राजधानी त्रिपोली र वरपरका क्षेत्रमा राष्ट्र सङ्घको पहलमा गरिएको युद्धविराम प्रभावकारी भएको र अबको काम सबै लिबियाली नागरिकलाई एकताका साथ आफ्नो समुदायमा बस्ने वातावरणको सिर्जना गर्नु हो ।”
अफ्रिकन यूनियनको फेब्रुअरी १० र ११ मा भइरहेको ३२ औँ शिखर सभामा सहभागी हुन पुगेका सबै अफ्रिकी नेताहरूलाई अदिस अबाबामा सम्बोधन गर्दै उहाँले लिबियाली समस्या अन्त्यको सामुहिक प्रयास थाल्न नेताहरूलाई आग्रह गर्नुभएको हो ।
राष्ट्रसङ्घ प्रमुखले भन्नुभयो, “यो समय लिबियाली जनतालाई राजनीतिक एकीकरण अभियानमा सामेल गर्ने हो । यसलाई अफ्रिकी संघको छातामा बसेर समाधानको प्रयास गर्नुस् ।”
“हाम्रो पहलमा लिबियाको मौद्रिक सङ्कटलाई स्थायित्व दिन केही आर्थिक उपायको खोजी भएको छ जसले वास्तविक रूपमा सुरक्षा सुधारको अवस्थालाई केही हदसम्म सम्बोधन गरेको छ ।”
प्रतिक्रिया