न्युयोर्क । अमेरिका भ्रमणमा रहेका प्रदेश नंबर एकका मुख्यमंत्री शेरधन राईले छ छ महिनामा सरकार बनाउँदै ढाल्ने परिपाटीको अन्त्य गरी स्थायी सरकारबाट समृद्ध नेपाल बनाउन कम्युनिष्ट पार्टीहरु एकता भएको बताएका छन् ।
न्युयोर्कमा विहिबार आयोजित मुख्यमंत्रीलाई सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राईले भने एकतासंगै भएको चुनाव मार्फत नेपाल कम्युनिष्ट पार्टीले सुविधाजनक जनमत पाएको बताए । अहिले संघीय सरकार र छ वटा प्रदेशमा कम्युनिष्टको सरकार भएको र अव पनि विकास गरिएन भने कसैलाई छुट नहुने विचार ब्यक्त गरेका छन् । उनले भने विकासको लागि सवै दल मिलेर काम गर्नुपर्ने पनि बताए । मुख्यमंत्रीले भने, यदी विकासमा कसैले बाधा पुर्याउँछन भने जनता बाट उनिहरु अलगथलग रहने छन् । विकासका लागि विदेशमा रहेका नेपाली समुदायले पनि सहभागिता जनाउन आव्हान गर्ने तयारी भैरहेको बताए । अन्य अतिथि बक्ताहरुले पहिचानका आधारमा किरात प्रदेश वा लिम्बुवान खम्बुवान नामाकरण गर्नुपर्ने तर्क राखेको विषयमा प्रस्ट्याउँदै मंत्री राईले भने यस विषयमा सवैदलका उच्च नेताहरुसंग छलफल भएर टुंगोमा पुराउन भुमिका खेल्ने बताए ।
कार्यक्रममा एनआरएन नर्थ अमेरिकाका अध्यक्ष नविन सेरचनले विदेशमा नागरिकता लिएका नेपाली मुलका नागरिकलाई नेपाली नागरिकता पाउने माग यथावत रहेको बताएका थिए । कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, ओएनएफका पुर्व अध्यक्ष संजय थापा, समाजवादी फोरम अमेरिकाका सचिव लोक चेम्जोङ, जनमंचका अमेरिका अध्यक्ष अग्नी साम्पाङ आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष मान राना लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली महावाणिज्यदुतावास न्युयोर्कबाट कन्सुलर कृशु क्षेत्री, फोरमका अमेरिका उपाध्यक्ष केशव राई लगायतको उपस्थिति थियो । महासंघ र एनआरएनको आयोजनामा भएको कार्यक्रम संचालन ओएनएफका उपमहासचिव राधाकृष्ण देउजाले गरेका थिए भने सभापतित्व बरिष्ठ उपाध्यक्ष टेकबहादुर गुरुङले गरेका थिए ।
मुख्यमंत्री राई घाँटीमा समस्या भएकाले उपचारका लागि विदेश जाने विदा लिएर थाईल्याण्ड गएका बेला बाँचेको समयलाई सदुपयोग गर्न अमेरिका पुगेका हुन् । मुख्यमंत्रीको घाँटीको उपचारका लागि डाक्टरले फलोअपमा रहनु पर्ने जरुरी भएको पनि जनाईएको छ ।
यसैविच बिहिवार अमेरिकाको मेरिल्याण्ड, वासिंटन र भर्जिनियाबासी नेपाली समुदायहरुसंग मेरिल्याण्डको बाल्टिमोर शहरमा भेटघाट भएको स्वकिय सचिव पारुहाङ राईले बताए । त्यहाँ नेपाली राजदुतावासका कन्सुलर प्रेराजा महतको ब्यवस्थापनमा कार्यक्रम भएको थियो । मुख्यमंत्री राई तिहार चाड पछि नेपाल पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने बताईएको छ ।
प्रतिक्रिया