काठमाडौँ, २५ पुस (रासस) : नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउट सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ भन्नुभयो ।
संघीय संसद्को निर्वाचनबाट १६५ सदस्य निर्वाचित भइसकेको भएपनि संघीय संसद्मा रहेका राजनीतिक दलले आफ्नो तर्फबाट एक तिहाइ महिला निर्वाचित गरेर पठाउने काम बाँकी रहेको र २७५ सदस्यीय सांसदले पूर्णता पाइसकेको अवस्था नरहेको खाँडले बताउनुभयो ।
प्रदेश प्रमुखको नियुक्तिका लागि सरकारले गृहकार्य गरिरहेको र अस्थायी राजधानीको घोषणा प्रदेशसभाले नै गर्नु संविधानसम्मत हुने उहाँले धारणा राख्नुभयो ।
नेता खाँडले नेपाली काँग्रेस अहिले सामूहिक नेतृत्वमा अघि बढिरहेको, बिपी र कृष्णप्रसाद भट्टराईको पालामा जस्तो अध्यक्षात्मक शैलीमा जाने भन्ने विषयमा नेपाली काँग्रेसभित्र गम्भीर बहस भइरहेको बताउनुभयो ।
त्यस्तै महासमितिको बैठक तथा पार्टीभित्रको मतमतान्तरका बारेमा पनि नेता र कार्यकर्ताबीच छलफल चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।
अर्को प्रसंगमा डा गोविन्द केसीले उठाएको मुद्दा महत्वपूर्ण रहेको तर आफूहरुको सर्वोच्च अदालतको निर्णयप्रति पनि सम्मान रहेको खाँडले बताउनुभयो ।
प्रतिक्रिया