मेरिल्याण्ड । अमेरिकामा रहेका विभिन्न नेपाली समुदायले तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गरिरहेका छन् ।
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क शाखाको आयोजनामा भएको एक कार्यक्रममा विभिन्न प्रस्तुतीहरु भएका थिए । जस अनुसार न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावासका प्रतिनिधि कृसु क्षेत्रीले मन्तब्य राख्ने क्रममा नेपाली संस्कृती बन्नका लागि किराती तथा अन्य आदिवासीको ठूलो महत्व भएको वताएका छन् ।
मन्तब्य राख्नेहरुमा युक्राका केन्द्रीय अध्यक्ष विष्णु राई, न्युईङ्ल्याण्ड शाखाका अध्यक्ष मुक्ती नरायण राई, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मनिन्द्र नेम्वाङ, नेपाल आदिवासी नजजाती महासंघ अमेरिकाका अध्यक्ष विनोद पोमो गुरुङ, ढोम्पे समाजका अध्यक्ष लाक्पा शेर्पा, डा. सुख गुरुङ, पुर्व डिआईजी पार्वती थापामगर लगायतले मन्तब्य राखेका थिए ।
देउसीभौलो सहित भएको कार्यक्रममा हास्यब्यंग्य, गायन तथा नृत्य समेत प्रस्तुती भएको थियो । जस अनुसार चर्चित नृत्यांगना पार्वती राई, स्थानिय कलाकार बसन्ती राई सहित दर्जनौं नेपाली कलाकारहरुले गायन तथा नृत्य सहित विभिन्न प्रस्तुती गरेका थिए । कार्यक्रमको अध्यक्षता युक्राका निवर्तमान अध्यक्ष नविनकला राईले गरेकी थिईन् ।
यसैविच अमेरिकाको सुदुर पश्चिमी राज्य क्यालिफोर्नियामा रहेको युक्राको शाखाले पनि देउसीभैलो कार्यक्रम गरिरहेको जनाएको छ । शाखा अध्यक्ष अवी राईको संयोजनमा स्थानिय नेपाली समुदायविच देउसी भैलो खेल्ने कार्यक्रम भईरहेको छ । उता युक्रा कै न्यु ईङ्ल्याण्ड शाखा द्वारा पनि भब्य साँस्कृतिक कार्यक्रम भैरहेको जनाएको छ । युक्राका प्रवक्ता सुरेश चाम्लिङका अनुसार नेपालीहरुको घरघरमा गएर देउसीभैलो खेलिरहेको बताएका छन् ।
किरात याक्थुम चुम्लुङ अमेरिकाको आयोजनामा समेत न्युयोर्कमा लारिङगेक–नालिम्ङगेक भनेर तिहारलाई मनाईरहेका छन् । मेरिल्याण्डमा पनि एक भेलाको आयोजना गरेर अमेरिका नेपाल हेल्पिङ सोसाईटीले देउसी–भैलो खेलेको पत्रकार विजय थापाले जनाएका छन् ।
प्रतिक्रिया