गौशाला, ६ असोज (रासस) महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी हुनुभएको छ ।
सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो ।
त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपालका रामनाथ यादव दुई हजार २४४ र उपाध्यक्ष पदमा सोही पार्टीकी सुनिता देवीले एक हजार ५५२ मत प्राप्त गर्नुभएको थियो ।
लोहारपट्टि नपामा काँग्रेसको जित
यसैगरी, महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ ।
निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै, उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्यसैगरी, प्रतिद्वन्द्वीका रुपमा प्रमुखमा राजपाका अब्दुल कवारी दुई हजार ९२९ र उपप्रमुखमा राजपाकै निशा साहले तीन हजार १०३ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिक्रिया