१८ माघ २०८१, शुक्रबार । January 31, 2025

अर्थ

आपूर्ति राज्यमन्त्रीद्वारा बजार अनुगमन



भीमदत्तनगर, ६ असोज (रासस) : आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ ।

उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो ।

बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन आग्रह गर्दा नभेटृाएपछि आज विहान १० बजेसम्म आवश्यक कागजात देखाउन आग्रह गर्नुभएको छ ।

त्यसैगरी, मासु पसल अनुगमन गर्दै उहाँले सरसफाइमा ध्यान दिन सुझाउँदै व्यवसायको बारेमा व्यापारीसित कुराकानीसमेत गर्नुभएको थियो ।

मन्त्री नै बजार अनुगमनमा निस्केको खबर पाएपछि तरकारी बजारका मासु पसलेहरु भने सहज हुँदै मन्त्री पुग्नुअघि नै सरसफाइमा व्यस्त देखिन्थे ।

“यसरी नै सधैँ सफा राख्नुहुन्छ कि आज मात्रै हो ?”, मासु पसलेलाई प्रश्न गर्दै राज्यमन्त्री विकले भन्नुभयो । त्यसैगरी, उहाँले बुधबार कैलालीको धनगढी बजार पनि अनुगमन गर्नुभएको थियो ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार ००:००