१८ माघ २०८१, शुक्रबार । January 31, 2025

खेलकुद

रोनाल्डोको पुनरागमनमा रियलको हार



स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रतिबन्धपछि खेलेको पहिलो खेलमा रियल म्याड्रिड रियल बेटिससँग पराजित भएको छ।

स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिडले सिजनको पहिलो हार बेहोर्ने क्रममा ला लिगाको पाँचौ चरणको खेलमा रियल बेटिसले १–० गोलले पराजित गरेको हो।

बेटिसको जितमा एन्टोनियो सानाब्रियाले दोस्रो हाफको इन्जुरी सयमको चौथो मिनेटमा गोल गरेका थिए। एन्टोनियो बारागानको क्रसमा सानाब्रियाले गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल स्तब्ध बन्यो।

रियलले बेटिसमाथि खेलमा दबाब दिए पनि फिनिसिङ हुन नसकेपछि केही गोल गर्ने राम्रो अवसर खेल फाल्यो। रियलले खेलमा २७ पटक गोल गर्ने प्रयास गरेको थियो।

सिजनको सुरुवातमै प्रतिबन्धमा परेका रियलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पुनरागमन राम्रो हुन सकेन।

बार्सिलोनाविरुद्ध स्पेनिस सुपर कपमा रेफ्रीलाई धेकेलेपछि रोनाल्डोलाई ५ खेलको प्रतिबन्ध लगाइएको थियो। सुपर कपका दोस्रो लेगसहित रोनाल्डोले ला लिगाका सुरुवाती चार खेल गुमाएको थिए।

बेटिसले रियलको घरेलु मैदानमा सन् १९९८ पछि पहिलोपटक जित हात पारेको हो।

हारपछि सातौं स्थानमा झरेको रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ। रियलको ८ अंक छ भने लगातार ५ जित निकालेको बार्सिलोनाको १५ अंक छ।

प्रकाशित : ६ आश्विन २०७४, शुक्रबार ००:००