२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

योजना काटिँदा गाउँपालिकामा तालाबन्दी



अछाम, २७ भदौ । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ ।

वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।

स्थानीयस्तरमा पटक–पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण ताला खोल्न नसकिएको बताइएको छ । सदरमुकामबाट जिल्ला समन्वय समितिका उपसंयोजकको टोली गाउँपालिकामै पुगेर सोमबार छलफल हुँदा पनि निष्कर्षमा पुग्न नसकेको वडा नं ३ का वडाध्यक्ष महादेव बुढाले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट जितेका र तीन वडामा नेकपा (एमाले) ले जितेका कारण ती वडाका योजनामात्रै हटाइएको तर अन्य व्यक्तिले पठाएका योजना गाउँसभाबाट पारित भएको उहाँको भनाइ छ ।

यता गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले भने आफूले केही योजना हटाएको तथा केही योजना थपेको स्वीकार गर्दै निर्णय भइसकेको अवस्थालाई उल्ट्याउन नसक्ने बताउँदै आउनुभएको छ । ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई रु ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो ।

यसैबीच गाउँपालिकामा योजनाको विषयलाई लिएर भएको तालबन्दी तथा विवादलाई समाधान गर्नका लागि दुईवटै पक्षलाई बोलाएर मंगलसेनमै छलफल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति संयोजक, विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले गाउँपालिकामा लाएको ताला खोल्ने र तीन वडाका योजनाका बारेमा मंगलबार सदरमुकाममा छलफल गर्ने त्रिपक्षीय सहमति भएको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले राससलाई जानकारी दिनुभयो ।

आज दिउँसो सदरमुकाममा तीन वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख उपप्रमुखसहित अन्य सरोकारवालाको संयुक्त बैठक बसी सहमति कायम गरिने प्रजिअ चौधरीको भनाइ छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००