पोखरा, २० भदौ । पोखरा–लेखनाथ महानगरपालिका–६ शान्तिपाटनस्थित एक घरमा गएराति १२ः१५ बजे अरिङ्गालले घरमा बनाएको गोलो पोल्न खोज्दा आगलागी भएको छ ।
सो ठाउँ बस्ने कृष्णबहादुर कुँवरको ढुंगाको छानो भएको पुरानो दुईतले घरको झ्यालमा अरिङ्गालले गोलो लगाएकामा घरधनी कुँवरले नजिकैको घरमा बस्ने मजदुरहरुलाई गोलो पोल्न लगाएको वडा प्रहरी कार्यालय, वैदामले जनाएको छ ।
आगो अन्यत्र पैmलन गई घरको माथिल्लो तलामा राखिएका फर्निचर तथा सरसामान जलेर नष्ट हुँदा करिब रु १५÷१६ लाखको क्षति पुगेको प्रहरीको अनुमान छ ।
महानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासबाट राति १ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
लागुऔषधसहित पाँच पक्राउ
यसैबीच, जिल्ला प्रहरी कार्यालय, कास्कीे लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले सोमबार पोखराका विभिन्नस्थानबाट चरेश र गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले पोखरा–लेखनाथ महानगर–१६ कोमागाने चोकबाट म्याग्दीको धौलागिरि गाउँपालिकाका रत्नबहादुर छन्त्याल र उनकी श्रीमती कुमारी छन्त्यालका साथबाट एक किलो चरेश बरामद गरेको छ ।
त्यस्तै, प्रहरीले विराटनगर महानगरपालिका–४ घर भई महानगर–५ मालेपाटन बस्ने सागर बुढाथोकी, वडा नं ७ मासवार बस्ने सैलमोन गुरुङ र जिल्ला धादिङ रोराङ गाउँपालिका–१ बस्ने टेकबहादुर तामाङबाट साढे पाँच किलो गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया