२२ माघ २०८१, मंगलबार । February 5, 2025

मुख्य खबर

निर्वाचन क्षेत्र निर्धारण राजनीतिक प्रभावमा : नेता नेपाल



भरतपुर, १६ भदौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले गरेको क्षेत्र निर्धारण उपयुक्त नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिक प्रभावमा परेर आयोगले काम गरेको आरोप लगाउनुभयो ।

नेता नेपालले भन्नुभयो “जनसंख्या, भूगोल, सुविधा, मतदाता, सामथ्र्य, पहुँच, जातीय विविधिकरणलगायतका विषयमा ध्यान दिनुपर्नेमा धेरै ठाउँमा त्यस्तो हुनसकेन ।” धेरै कुरा नमिलेको बताउँदै उहाँले राजनीतिक प्रभावबाट मुक्त भएर क्षेत्र निर्धारण गर्नुपर्नेमा त्यस्तो भएको छैन भन्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेकपा एमालेले शान्तिपूर्णरुपमा आयोजना गरेका कार्यक्रममा प्रतिरोध गर्नु राजनीतिक संस्कारको अभाव भएको बताउनुभयो ।

“लोकतन्त्रमा शान्तिपूर्ण राजनीतिक कार्यक्रमको विरोध गर्नु भनेको लज्जास्पद् विषय हो ।” उहाँले भन्नुभयो, “मधेशमा हामीले कस्तो राजनीतिक संस्कार विकास ग¥यौं ? त्यो अहिले देखिएको छ ।”

मधेशमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै नेपालले भन्नुभयो “पहिलो र दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो बन्यो, तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी बन्दछ ।”
तेस्रो चरणको निर्वाचनमा अन्य दलसँग तालमेल हुनसक्ने भन्दै नेता नेपालले स्थानीय आवश्यकताअनुसार तालमेलका विषयमा छलफल भइरहेको बताउनुभयो ।

मधेसी जनताको हितमा रहेकाले नै संविधान संशोधन विधेयक पारित नभएको हो भन्दै उहाँले नेता उपेन्द्र यादवले पनि संविधान संशोधनको औचित्य नभएको बताउनुभएको स्मरण गराउनुभयो ।

शान्ति प्रक्रियामा सघाउन हालै आफूले उत्तर कोरियाको भ्रमण गरेको बताउदै नेता नेपालले नेपालको कुटनीतिक सम्बन्ध रहेको त्यस मुलुकमा शान्ति कायम होस् भन्ने हाम्रो चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो “राम्रो वातावरण सिर्जना गर्नका लागि भएको आफ्नो भ्रमणलाई आलोचना गर्नुको अर्थ नरहेको बताउनुभयो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००