दिपक दुलाल
पाँचथर, २६ साउन । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नं.वडा कार्यालय नवमीडाँडाले कोरोना संक्रमण जोखिमबाट उच्च सतर्कता अपनाउँन वडाबासीमा आग्रह गरेको छ ।
वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै नवमीडाँडामा कोरोना संक्रमित ब्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) रहेको पाइएको र निजले नवमीडाँडामा रहेको आफ्नो परिवारसँग समय विताएको तथा अन्य गाउँ घरमा समेत हिँडडुल गरेको पाइएकोले कोरोना संक्रमणको जोखिमबाट उच्च सतर्क रहन वडाबासीलाई आग्रह गरेको हो ।
फाल्गुनन्द १, वडा कार्य समिति, कोरोना रोकथाम तथा नियन्त्रण समूह साथै सरोकारवालाहरुको संयूक्त बैठकले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गर्ने साथै अत्यावश्यक बाहेक सवारीसाधन आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै बजारक्षेत्रमा सामाजिक दुरी कायम गरेर अत्यवश्यक पसलहरु मात्र सञ्चालन गर्ने गराउँने,अत्यवश्यक काम बाहेक घरबाहिर हिँड्डुल नगर्न र हिँड्नै परे मास्कको प्रयोग गर्ने साथै वडामा सञ्चालन हुने भेला, गोष्ठि, सभा, सम्मेलन, ट्यूसन सेन्टर र निजी तथा सामुदायिक विद्यालयमा समेत जमघट नगर्न नगराउँन वडाकार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
संक्रमित ब्यक्तिको परिवार फाल्गुनन्द १ नवमीडाँडामा नै रहेको र निजहरुलाइ फिदिम स्थित क्वारेन्टिनमा पठाइसकिएको जानकारी गराउँदै उहाँहरुको पिसिआर रिपोर्ट नआउन्जेलसम्म उक्त निर्णयहरु कार्यन्वयन गर्न गराउँन सम्बन्धित सबैमा वडा कार्यालयले आग्रह गरेको गरेको हो ।
श्रीमती र छोरासहित ससुराली घर नवमीडाँडामा साउन ६ गते आएर ९ गते आफ्नो कार्यक्षेत्र इलाम फर्किएका शसस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण भेटिएपछि नवमीडाँडामा कोरोना संक्रमणको त्रास फैलिएको हो । सँगै आएकी उनकी श्रीमती र छोरा साथै आफन्तलाई समेत फिदिम स्थित क्वारेन्टिनमा राखिएको र उनीहरुको पिसिआर रिपोर्ट आउँन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया