काठमाडौं २०, असार । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादी कैलाली धनगढी नगरपालिका–४ चटकपुर घर भएका वन डिभिजन कार्यालय अत्तरिया कैलालीमा वन अधिकृत पदमा कार्यरत ६० वर्षीय रामनारायण यादव पक्राउ परेका हुन्।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३५ को पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
यादवलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको ब्युरोले जनाएको छ।
प्रहरीले यसअघि पनि यावदलाई पक्राउ गरेपनि रक्तचाप, मधुमेह समेतको बिरामी भएका कारण उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीबाट साधन श्रोत सम्पन्न अस्पतालमा रेफर गर्दा उनी गएको जेठ ९ गते छोरासहित फरार भएका थिए।
कास्कीमा पनि विभिन्न मुद्दाका फरार दुई जना अभियुक्तलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका–५ ख्याम्राङका ६२ वर्षीय च्यामबहादुर तामाङ र माछापुच्छ्रे गाउँपालिका–२ बस्ने ३४ वर्षीय सन्तोष तामाङ रहेका छन्।
उनीहरूमध्ये च्यामबहादुर जिल्ला अदालत कास्कीको २०७३ जेठ १४ गतेको फैसलाले जबरजस्ती चोरी मुद्दामा १ लाख ५७ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भएको र सन्तोषलाई सोही अदालतको २०७१ चैत २६ गतेको फैसलाले नकवजनी चोरी मुद्दामा ६६ हजार २ सय ९३ रूपैयाँ जरिवाना र नकबजनी चोरी मुद्दामा सोही मितिको फैसलाले १ लाख ३८ हजार ७५ रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका थिए।
पक्राउ दुबै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रतिक्रिया