काठमाडौं १७, असार । पार्टी एकताका बेला भएको सहमति कार्यान्वयन गरेर अगाडि बढ्ने समझदारी गर्दै उत्पन्न विवाद टुङ्ग्याउनेतर्फ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अगाडि बढ्ने तयारी भएको छ।
पार्टी एकताको बेला ओली–प्रचण्डबीच आलोपालो पार्टी र सरकारको नेतृत्व पालैपालो गर्ने सहमति भएको थियो। सोहीअनुसार अगाडि बढ्ने गरी तयारी भएको हो।
२०७५ सालको जेठ २ गते भएको सहमति पत्रमा उल्लेख भएको ४ नम्बर बुँदाअनुसार प्रधानमन्त्री ओलीले आधा कार्यकाल पूरा गरेका छन्।
प्रधानमन्त्री ओली निकट एक स्थायी समिति सदस्यकाअनुसार हाल देखिएको पार्टीको आन्तरिक जटिलता टुङ्ग्याउने विकल्पको रूपमा अर्का अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व दिनेबारे नेताहरू छलफलमा छन्।
पार्टी फुटाउँदा नेता–कार्यकर्तादेखि जनतामा नराम्रो सन्देश जाने भएकोले त्यसतर्फ शीर्ष नेताहरू सचेत भएको देखिएका छन्।
मङ्गलबार (हिजो) स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहित १२ जना स्थायी समिति सदसयहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदबाट राजीनामा दिन दबाब दिएका थिए।
नेपालको नक्सा छाप्दा भारतले आफूलाई पदबाट हटाउन खोजेको विवादास्पद अभिव्यक्ति ओलीले दिएपछि आक्रोशित सचिवालयमा र स्थायी समितिमा रहेका बहुमत नेताहरूले अमर्यादीत अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना गरे।
यति मात्रै नभएर पार्टी र सरकार दुबै चलाउन नसकेको गम्भीर आरोप पनि लगाएका थिए।त्यसपछि विकसित घटनाक्रमले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने सङ्केत पाएका ओलीले बुधबार (आज) बिहान आफूनिकटका नेताहरूसँग परामर्श गरेका छन्।
प्रतिक्रिया