१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

रूकुम घटनाविरूद्दमा प्रदर्शन गरेकामाथि प्रहरीले गरेकाे दमनको कांग्रेसद्दारा विराेध



काठमाडौं १०, असार। नेपाली कांग्रेसले रूकुममा अन्तरजातीय प्रेम सम्बन्धका कारण मारिएका नवराज वि.क. सहित ६ जनाको हत्याको विरुद्दमा सिंहदरबार अगाडि शान्तिपूर्ण धर्नामा बसेकाहरूलाई प्रहरीले गरेको लाठीचार्ज र पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभिन्न राजनीतिक दल आबद्ध १४ वटा दलित संगठन रहेको संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजको तर्फबाट गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बुधबरा दिउँसो लाठीचार्ज गर्दै प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ।

प्रहरीले कांग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र लक्ष्मी परियार, राजकुमार हिङ्माङ, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला बागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ पुर्कुटी, शोभा विश्वकर्मा, सङ्घर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म बिडुवाल र दुर्गा विश्वकर्मालाई पक्राउ गरेको हो।

प्रहरीको लाठीचार्जबाट कांग्रेस नेता लक्ष्मी परियार घाइते भएको जनाइएको छ।

‘शान्तिपूर्ण रूपमा ज्ञापन–पत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकार माथि ठाडो हस्तक्षेप गर्दै वर्तमान सरकारले संविधानको भावना र मर्म विपरीतका क्रियाकलाप गर्न थालेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ।’

कांग्रेसले पक्राउ परेकाहरूको रिहाइ र घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००