१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

साम्यवादी सरकारले जनताप्रतिको दायित्व पूरा गर्न सकेन : काँग्रेस वरिष्ठ नेता पौडेल



काठमाडौं ६, असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पूँजिवादी र साम्यवादीहरूले जनताप्रतिको दायित्व पूरा गर्न नसकेको बताएका छन्।

उनले पूँजिवादी र साम्यवादीहरू उपभोक्तावादतर्फ उन्मुख भएको बताए।

यस्तो अवस्थामा नेपाली काँग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद जनताप्रतिको दायित्व पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सुदूरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा नेता पौडेलले पूँजिवादीहरू जनताप्रतिको दायित्व राज्यसँग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनताप्रतिको दायित्व पूरा गर्न नसकेको टिप्पणी समेत गरे।

‘साम्यवादीहरू पनि अहिले बजारीकरण र उपभोक्तावादतर्फ लागेका छन्, पूँजिवादी मुलुकहरू व्यक्ति पूँजिवादी बन्ने तर, साम्यवादी राज्यहरू पूँजिवादी बन्ने बाटोमा लागेको देखियो’, उनले भने, ‘साम्यवाद रूस तथा पूर्वी युरोपबाट धेरै अगाडि अन्त्य भइसकेको छ, अहिले साम्यवादका नाममा राज गरिरहेका मुलुकलाई पूँजिवादी बनाउन लागेको छ।’

गाउँको विकास, गाउँको उन्नती, गाउँमा नै जनतालाई रोजगारी अनि गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको बताए।

नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरू विदेशीनु परेको नेता पौडेलको भनाई छ।

‘नेपाली काँग्रेसले पनि हलो क्रान्ति र मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन सकेको छैन’ पौडेलले बताए।

प्रकाशित : ६ असार २०७७, शनिबार ००:००