हलेसी तुवाचुङ नगरपालिकाले खडेरी प्रभावित क्षेत्रका स्थानीयवासीलाई दशैँ मान्न खाद्यान्न उपलब्ध गराएको छ । लामो समयको खडेरीका कारण छरेको मकै पनि सुकेर मरेपछि खाद्य सङ्कटमा परेका स्थानीयवासीलाई नगरपालिकाले राहत स्वरुप चामल उपलब्ध गराएको हो । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकाका ११ वटा वडाका करीब पाँच हजार ५०० घरधुरी खडेरी पीडितलाई दशैँ मान्न जनही दश किलोग्रामका दरले चामल वितरण गरिएको नगरप्रमुख इवन राईले बताएका छन् । “सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीको घरमा अहिले अन्नको दाना समेत छैन”, उ न्ले भने, “खाद्यान्न अभावले दशैँ मान्न समेत नपाउने भएपछि प्रतिघर दश किलोग्रामका दरले चामल वितरण गरिएको हो ।”
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सो नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी र कम्तिमा मासिक रु १५ हजार नियमित आम्दानी भएका बाहेकका परिवारलाई चामल वितरण गरिएको जनाएको छ । खडेरीले मकै छर्न नपाएका र छरिएको मकैको बिरुवासमेत मरेपछि नगरसभाबाटै खाद्य सङ्कट क्षेत्र घोषणा गरेको थियो । खाद्य सङ्कट क्षेत्र घोषणा गरेको नगरपालिकाले रु एक करोड ३० लाख बराबरको चामल खरिद गरेर ल्याएको छ । वडा नम्बर–९ सल्लेबाट खाद्यान्न वितरण शुरु गरेको नगरपालिकाले सबै वडाका खडेरी प्रभावितलाई वितरण गर्ने जनाएको छ ।
मकै, कोदो, गहत, जुनेलो, फापर र मासभटमास मात्र फल्ने हलेसी क्षेत्रमा फौजी किराले समेत आतङ्क मच्याएको छ । करीब दुई महिनाअघि फैलिएको अमेरिकन फौजी किरा अझै नियन्त्रणमा नआएको स्थानीयवासीले बताएका छन् । खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ । दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती समेत लामो समयको खडेरी र फौजी किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । खडेरीका कारण यस वर्ष जिल्लामा कम्तिमा पनि ४० प्रतिशत खाद्यान्न उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्र खोटाङ प्राविधिक सहायक हरिनारायण राईले बताए। दुई नगरपालिका र आठ गाउँपालिकागरि दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा समेत खडेरीले असर गरेको छ ।
प्रतिक्रिया