२४ माघ २०८१, बिहिबार । February 6, 2025

पर्यटन

पर्यटनमन्त्रीद्वारा कार्ययोजनाबारे सभापति देउवालाई जानकारी



काठमाडौँ, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो एक वर्षको कार्ययोजना र नेपाल भ्रमण वर्ष २०२० को बारेमा आज जानकारी गराउनुभएको छ । देउवा निवास बूढानीलकण्ठमा पुगेर उहाँले आफ्नो मन्त्रालयको काम, कार्ययोजना तथा भ्रमण वर्ष सफल बनाउनेबारे जानकारी गराउनुभएको हो । “मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु”, उहाँले भन्नुभयो । भ्रमण वर्ष र मन्त्रालयको कामबारे सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह र सुझाव दिनुभएको थियो । सो अवसरमा मन्त्री भट्टराईले सभापति देउवालाई कार्ययोजनाको पुस्तक उपलब्ध गराउनुभएको थियो । भेटमा उहाँले मुलुकको विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष दुवैको आवश्यकतापर्ने भएकाले काङ्ग्रेस सभापति देउवासँग सहयोगका लागि आग्रह गर्नुभएको थियो । “तपाई पटक पटक प्रधानमन्त्री भएको, अनुभवी र प्रेरणाको स्रोतको नेता हुनुहुन्छ । तपाईको सहयोग आवश्यक छ”, मन्त्री भट्टराईले देउवासँग भन्नुभयो । उहाँले भेटमा मुलुकको विकास निर्माणका लागि आफ्नो सहयोग सधैँ रहने बताउनुभएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले भ्रमण वर्ष राष्ट्रिय विषय भएकाले सफल पार्नमा प्रतिपक्षको सहयोग रहने बताउनुभयो । “भ्रमण वर्ष सफल बनाउने र तपाईले सार्वजनिक गर्नुभएको नीति तथा योजनामा मेरो पूर्ण समर्थन छ”, देउवाको भनाइ उद्धृत गर्दै मन्त्री भट्टराईले भन्नुभयो, “तपाईं जस्तो युवामन्त्रीले मुलुकको विकास निर्माण गर्नुपर्दछ ।” मन्त्री भट्टराईले भदौ ९ गते मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीतिका साथ प्रमुख प्राथमिकताका १४१ बुँदे कार्ययोजना ल्याउनुभएको थियो । नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयु)ले राखेको कालोसूचीबाट हटाउन आवश्यक पूर्व सर्त पूरा गर्ने र सो प्रयोजनका लागि नागरिक उड्डयन क्षेत्रका सेवा प्रदायक तथा नियामक निकायका अलगअलग संरचना हुने गरी नयाँ कानूनको तर्जुमा गरिने, नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ पर्यटन ऐनको व्यवस्था गरी लुम्बिनी, पशुपति क्षेत्र र जनकपुरधामलाई हालको विकास क्षेत्रभन्दा अलग किसिमको बनाई सङ्घ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुनेगरी संरचना बनाइने, सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि स्थानीय तहसमेत सहभागी हुने उल्लेख छ । यसैगरी कार्ययोजनामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापनलाई समयसापेक्ष सुधार गरी सार्वजनिक कम्पनीका रूपमा सञ्चालनको व्यवस्था गरिने, विमानस्थलको महत्वलाई ध्यान दिई तीनकुने–गौशाला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गरी संरचना परिवर्तन र सौन्दर्यकरण गर्नेसमेत कार्ययोजनामा छ । योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्थापित गर्न बाँकी काम निर्धारित समयभित्रै सम्पन्न गरी सम्भवतः भ्रमण वर्षअघि मुख्य काम सकिने, विमानस्थललाई २४सै घण्टा सञ्चालन गरी बायोमेट्रिक प्रणालीबाट यात्रुको जाँच, अध्यागमनलाई चुस्त र विमानस्थलका सेवालाई प्रविधिमैत्री बनाउने उल्लेख छ । भ्रमण वर्ष अभियान अवधिमा २० लाख पर्यटक नेपाल भित्र्याउन प्रमुख १० स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रमको खाका बनाई प्रवद्र्धन गरिने, आगामी सन् २०२० जनवरी १ अघि नै बुटिक विमानस्थल घोषणा गर्नेगरी काम अघि बढाइने मन्त्री भट्टराईले सभापति देउवालाई जानकारी गराउनुभएको थियो । आगामी जनवरीको पहिलो साताभित्र विदेशमा रहेका नेपालका सबै कूटनीतिक नियोग, मिसन तथा सातै प्रदेशका राजधानीमा भ्रमण वर्षको कार्यक्रम भव्य रुपमा शुभारम्भ गर्ने र उक्त कार्यक्रममा राजनीतिक दलका नेतालाई सहभागी गराइने कार्ययोजनामा उल्लेख छ ।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार ००:००