जाजरकोट, १६ भदौ । जाजरकोटका विभिन्न क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपको समाचार राससबाट प्रकाशित भएपछि बिहीबार दिउँसो औषधि र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ । जिल्लाका त्रिवेणी नलगाड–५ मा बढी सङ्क्रमण भएका कारण सोतर्फ पहिलो चरणको उपचार शुरु हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटीका सदस्य प्रशान्त शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीहरु भण्डारीगाउँ, मुली, पोख्रालगायत गाउँमा गएको छ । टोली आज बिहानसम्म पुग्ने शर्माले बताउनुभयो । बाटो विकट भएका कारण रोग प्रभावित क्षेत्रमा जान समस्या भएको शर्माले बताउनुभयो ।
पहिलो चरणमा अत्यावश्यकीय सेवा दिने र अवस्था हेरेर थप सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटका रामबहादुर थापाले बताउनुभयो ।
प्रभावित क्षेत्रको अवस्थाको सही जानकारी लिएर केन्द्रबाट थप जनशक्ति परिचालन गरिने पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले राससलाई बताउनुभयो । एक गाडी औषधि र पाँचजना स्वास्थ्यकर्मी पहिलो चरणमा पठाइएको छ ।
प्रतिक्रिया