उर्लाबारी,१२ माघ । मोरङको कर्सियामा आज दिउँसो लुटेराहरुको एक समूहले वित्तीय संस्थाका एक कर्मचारीमाथि गोली प्रहार गरेर रु दुई लाखभन्दा बढी लुटेका छन् ।
लुटेराको समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कर्सियाको पश्चिमतर्फ रहेको खोला छेउमा ढुकेर बसेका चारजना लुटेराको समूहले जीवन विकास समाजका वरिष्ठ फिल्ड सहायक बहरदारमाथि गोली प्रहार गर्नुका साथै रडले समेत प्रहार गरेका थिए ।
दादरबेरियाबाट रकम सङ्कलन गरेर फर्कंदै गर्दा लुटेराहरुले रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड सहायक रवीन्द्रनारायण ठाकुरले बताए ।
गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । रासस
प्रतिक्रिया