गतवर्षको भूकम्पले क्षति पुर्याएका विद्यालय तथा कक्षाकोठाको पुननिर्माण कार्य सुस्त भएपछि समग्र शैक्षिक उपलब्धिमा ह्रास आएको विद्यालय सञ्चालकले बताएका छन् ।
भूकम्पपछि बनाइएका अस्थायी शिक्षण केन्द्रहरू समेत जीर्ण बन्न थालेपछि झन् चिन्ता बढेको उनीहरुको भनाइ छ । भूकम्पका कारण करिब ३१ हजार कक्षा कोठामा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
छाँटकाँट
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूले आर्थिक व्यवस्थापनमा कुनै समस्या नआए तीन वर्ष्भित्र विद्यालय पुनर्निर्माणका सबै काम सकिने बताएका छन् । तर स्थानीय तहमा भने पुनर्निर्माणको छाँटकाँट हेर्दा त्यो लक्ष्य भेट्न कठिन देखिने जानकारहरु बताउँछन् ।
भक्तपुर जिल्लाको सूर्य्विनायकमा रहेको सन्तकृष्ण प्राथमिक विद्यालय पनि अन्य हजारौं विद्यालय जस्तै भूकम्पले भत्किएको थियो । तर अहिलेसम्म त्यसको पुनर्निर्माण हुन सकेको छैन ।
भत्केको भवनको छेवैमा उभिएर विद्यालयका प्रधानाध्यापक हरिप्रसाद राजथलाले धेरै पटक ताकेता गरे पनि पुनर्निर्माणको काम हुन नसकेको गुनासो गर्दै भने, “कहिले हुरीवतास आउँछ त कहिले पानी पर्छ । यो अस्थायी टहरामा एउटा कोठामा पढाएको आवाजले अर्को कोठामा असर गर्छ । पठनपाठनको गुणस्तरमा निकै नोक्सानी भइरहेको छ ।”
विद्यालय पुनर्निर्माणका कामले गति लिन नसकेको बारे पुनर्निर्माण प्राधिकरणका अधिकृत इमनारायण श्रेष्ठ भन्छन् “शिक्षा विभागको स्रोत अनि एशियाली विकास बैंक र जापानी सहयोग नियोग जाइकाको सहयोग हुने छ । अन्य गैरसरकारी संस्थाहरुले पनि सहायता दिंदैछन् । सबैतिरबाट बजेटको व्यवस्था हुन सके तीन वर्ष भित्र विद्यालय पुननिर्माण गर्न सकिन्छ ।”
कतिपयले विद्यालय जस्तो महत्वपूर्ण संरचनाको पुननिर्माणमा पनि राज्यले तदारुकता देखाउन नसकेको आरोप लगाउने गरेका छन् ।
लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएका विद्यालयको पुनर्निर्माणमा धेरै ढिलाई भए कालान्तरमा शैक्षिक क्षेत्रमा त्यसको नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् ।
बिबिसी नेपाली सेवावाट
प्रतिक्रिया