काठमाडौँ, ९ साउन । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले पार्टीभित्र देखिएको भागबण्डा अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेत्री कोइरालाले भागबण्डाका कारण पार्टीले पराजय भोग्दै गएको भन्दै पार्टीभित्र देखिएको ६०÷४० को भागबण्डा अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
केन्द्रमा देखिएको गुटबन्दीको रोग स्थानीय तहमा पुगेको कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नुपरेको उहाँको भनाइ थियो । “पार्टीका निम्ति दुःख गरेको व्यक्तिलाई टिकट नदिएर नेताको नजिकको व्यक्तिलाई टिकट दिए २ नं प्रदेशमा पनि काँग्रेसले पराजय भोग्नुपर्ने अवस्था आउन सक्छ” – नेत्री कोइरालाले भन्नुभयो ।
गाउँमा संगठन निर्माणका लागि दुःख गरेका व्यक्तिलाई पार्टी नेतृत्वले सही ठाउँमा व्यवस्थापन गर्न नसके काँग्रेसको संगठन कमजोर हुने उहाँको भनाइ थियो ।
नेत्री कोइरालाले संविधानले महिलाका लागि धेरै अधिकार दिएको भन्दै पार्टीले पनि महिलाको उचित मूल्यांकन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा महिलालाई उचित स्थान दिइनुपर्छ ।”
उहाँले संविधान कार्यान्वयनको मुद्दालाई थाती राखेर निर्वाचनमा जानुपर्ने बताउनुभयो । नेत्री कोइरालाले माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले अब ढिला गर्न नहुने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया