काठमाडौँ, २९ असार । सञ्चारमाध्यममा पत्रकार महिलाको सङ्ख्या र उनीहरुले काम गर्ने वातावरणमा सुधार देखिएको छ ।
सञ्चारिका समूहले गरेको पछिल्लो अध्ययनमा पत्रकार महिलाका लागि कार्यस्थलको वातावरण अनुकूल नभएको र सहकर्मी तथा अग्रजबाट उचित व्यवहार नहुने गुनासोमा कमी आएको देखिएको हो ।
“नेपालका पत्रकार महिलाको पेसागत अवस्थाबारे विसं २०७२ मा गरिएको सो अध्यययनमा सहभागी ७३ दशमलव ०३ प्रतिशत उत्तरदाताले सहकर्मीको व्यवहार सहयोगी भएको जवाफ दिएका छन् तर अग्रज एवं वरिष्ठका व्यवहारलाई भने आधाभन्दा कमले मात्रै राम्रो ठानेका छन् । सहभागी ४१ प्रतिशतले अग्रज एवं वरिष्ठको व्यवहारबारे बोल्न चाहेका छैनन् ।
कुल ९०७ सञ्चारगृहमा कार्यरत सात हजार ६५० पत्रकारबीच गरिएको सो अध्ययनअनुसार हाल पाँच हजार ७११ पुरुष र एक हजार ९३९ जना (२५ दशमलव ३) प्रतिशत महिला रहेको सञ्चारिकाका अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।
अध्ययन माथि सुझाव लिन आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बुडले नेपालमा कार्यरत पत्रकार महिला २५ प्रतिशत हुनु सकारात्मक भएको बताउँदै उनीहरुको क्षमता वृद्धि र पेसागत सुरक्षाका लागि अष्ट्र«ेलिया सरकारले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्ययनले पत्रकार महिलालाई तलब, सुविधा र अन्य विषयमा भेदभाव, रात्रि जिम्मेवारीमा रहन असुविधा हुने, माथिल्लो पदको जिम्मेवारी नदिइने समस्या रहेको जनाएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले अवसर वा उचित वातावरण नपाएका कारण पत्रकार महिलामा पेशा छाड्ने प्रवृत्ति देखिए पनि उनीहरुलाई वातावरण दिएर पत्रकारितामा टिकाउन आवश्यक नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल र सामुदायिक सूचना केन्द्र (सिआइएन) का रेडियो पत्रकार लक्ष्मी बस्नेतले अध्ययनमा केन्द्रित भई प्रस्तुति गर्नुभएको थियो ।
प्रतिक्रिया