नवलपरासी, २२ असार । सदरमुकाम परासी बजारको अव्यवस्थित साप्ताहिक हाटबजारमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
सडकको अवस्था नाजुक छ । आवतजावत गर्न समस्या भएको छ । बजारमा सवारिसाधन पार्किङ गर्ने स्थानको अभाव छ । सर्वसाधारणले सडकमै पार्किङ गर्ने गरेका छन् । हाटबजारमा खाने पानीसमेत छैन ।
आधाभन्दा बढी व्यापारीले खुला आकाशमुनि पसल सञ्चालन गर्दैआएका छन् । बजारमा मासु पसल अव्यवस्थित रुपमा सञ्चालन गरिएका छन् । जताततै फोहर भएकाले बजारमा प्रदूषण बढेको स्थानीय कमला थापा बताउनुहुन्छ । नगरपालिकाले उक्त क्षेक्रलाई खुला दिसामुक्त घोषण गरे पनि बजार वरपर फोहरै फहोर देखिन्छ ।
सातामा दुई पटक लाग्ने परासी हाट बाजारको अवस्था सुधार्न रामग्राम नगरपालिकाले प्रभावकारी पहल नथालेको हाट बजार व्यस्थापन समितिका अगुवा राधेश्याम अग्रहरीले बताउनुभयो । रामग्राम नगरपालिकाले वार्षिक रु १० लाखको बजार ठेक्का लगाउने गरेको छ । तर बजारको व्यवस्थापन भने गर्न सकेको छैन ।
झरही नदी किनारमा लाग्ने हाट बजारमा व्यापारीले खुलेआम बधशाला सञ्चालन गरेका छन् । गर्मीको मौसममा खोलाको बालुवा उडेर बजारसम्म पुग्छ । बजारलाई व्यवस्थित गर्नुपर्ने स्थानीयवासी सुरेन्द्र गुरुङ बताउनुहुन्छ ।
आगामी दिनमा हाट बजार व्यवस्थित गरिने रामग्राम नगरपालिकाका शहरी विकास शाखा प्रमुख भगौती यादवले बताउनुभयो । रामग्राम नगरपालिका– २ मा साप्ताहिक हाट बजार बुधबार र शनिबार लाग्छ ।
प्रतिक्रिया