१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

कृषिमा आत्मनिर्भर बनाउने योजना ल्याउनुपर्ने सुझाव



काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमा छलफल जारी छ ।

आजको बैठकमा परराष्ट्र, सङ्घीय मामिला तथा स्थानीय विकास, आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास र खानेपानी तथा सरसफाइ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिइरहनुभएको छ ।

बैठकमा सांसदले यही असार मसान्तसम्म ८० प्रतिशत पुँजिगत खर्च हुन नसक्ने जिकिर गर्नुभयो । उहाँहरुले रोजगारी बढाउने उद्देश्यले उद्योग मन्त्रालयअन्तर्गतका निकायले उद्यमशीलताको विकासको योजनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै कृषिलाई अझ बढी प्रोत्साहन मिल्ने र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने खालका योजना ल्याउनुपर्ने सुझाव उहाँहरुले दिनुभयो ।

छलफलमा सांसद भरत खड्का, अमृतकुमार बोहरा, हरिबोल गजुरेल, भाष्कर भद्रा, छाया शर्मा पन्त, गीता क्षेत्री, शिवचन्द्र चौधरीलगायतले भाग लिइरहनुभएको छ ।

बैठकमा सांसद प्रेम सुवालले परराष्ट्र, स्थानीय विकास र उद्योग मन्त्रालय, सांसद अनुराधा थापा मगरले आपूर्ति र खानेपानी मन्त्रालय र सांसद डिल्लीराज काफ्लले ऊर्जा र कृषि विकास मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित : २१ असार २०७४, बुधबार ००:००