२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

भागरथीको हत्या आरोपी यी हुन्, जसले प्रहरीलाई १३ दिन छक्याए



काठमाडौं। १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनाको संलग्न आरोपमा पक्राउ परेका दिनेश भट्ट नातामा भागरथीकी भाइ रहेको खुलेको छ।

प्रहरीका अनुसार दिनेश छिमेकी पनि हुन्। उनी भागरथी अध्ययन गर्ने सनातन धर्म मा.वि.को कक्षा ११ मा अध्ययनरत छन्।

उमेर चाहिँ भागरथीको भन्दा एक वर्ष कम अर्थात् १६ वर्ष हो। मंगलबार हिजो करिब २ घण्टा लामो केरकारपछि घटनामा आफ्नो संलग्नता रहेको साविती बयान दिएपछि प्रहरीले उनलाई अपराधीको रूपमा करार गरेको छ।

तर, उनले अनुसन्धानमा संलग्न उच्च र वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत छक्याउन प्रयास नगरेको भने होइन। अन्ततः उनको छक्क्याइ दुई साता पनि टिकेन।

त्यसका लागि उनले “भागरथीलाई न्याय दे” भन्दै गरेको प्रदर्शनहरूमा सक्रिय सहभागिता जनाएका थिए। जसले प्रहरीलाई अपराधमा संलग्न उनलाई पहिचान गर्न समय लाग्यो।

हाल उनी जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन्। उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिने तयारी गरेको छ।

बैतडी प्रहरी प्रमुख तथा डीएसपी नारायणप्रसाद अधिकारीले अब पीडित पक्षले न्याय पाउने बताए।
भागरथीको गत माघको २१ गते बलात्कारपछि हत्या भएको थियो। शव भने त्यसको भोलिपल्ट माघ २२ गते फेला परेको थियो।

घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीको कमाण्डमा भएको थियो।

अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली संलग्न थियो।

सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथीको हत्यामा संलग्नलाई पानी मुनी गएपनि नछाडिने र कानुनी कठघरामा ल्याइ छाड्ने दावी गरेका थिए।

हिजो (मंगलबार) पनि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महिला कानुन व्यवसायीहरूसँग भागरथीको अपराधी नजिक प्रहरी पुगेको बताएका थिए।

नभन्दै प्रहरीले अपराधमा संलग्नको आरोपमा पक्राउ गरिसकेको छ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००