२८ आश्विन २०८१, सोमबार । October 14, 2024

Uncategorized

अन्नतः १३ दिनपछि पक्राउ परे भागरथी भट्टको हत्या आरोपी



काठमाडौं। १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्न आरोपमा १३ दिनेपछि आरोपी दिनेश भट्ट पक्राउ परेका छन्।

उनी सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार शनिबार नै नेपाल – भारत सीमावर्ती क्षेत्र महेन्द्रनगरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

तर, पक्राउ गरेको विवरण प्रहरीले सार्वजनिक गरेको थिएन। प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्नता स्वीकार गरेपछि बल्ल प्रहरीले पक्राउ गरेको विवरण सार्वजनिक गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले पक्राउ परेका भट्टलाई आज बिहान १० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताए।

भागरथीको बलात्कारपछि हत्या गत माघको २१ गते भएको थियो। तर, शव भने भोलिपल्ट अर्थात् माघको २२ गते फेला पर्यो।

जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटन अनुसन्धानमा खटिएको थियो।

पछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट एसएसपी जनकराज पाण्डेको टोली खटिए। प्रहरी प्रधान कार्यालयबाट पनि एक जना डीएसपीको नेतृत्वमा सीआईबीको टोली खटिएको थियो।

तर, घटना अनुसन्धानमा कहींकतै कमजोरी हुन नदिन भनेर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी नै अपराध अनुसन्धानको कमाण्ड सम्हाल्न माघको २५ गते बैतडी पुगेका थिए।

यसरी सुवेदी नेतृत्वमा अपराध अनुसन्धानमा खटिएको प्रहरीको संयुक्त टोलीले अन्ततः घटना भएको १३ दिनपछि घटनामा संलग्नताको आरोपमा भट्टलाई पक्राउ गरेको हो।

फेरि, भागरथी हत्या काण्डलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १४ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको जस्तो अनुसन्धान गिजोलिन सक्ने पिर प्रहरीलाई थियो।
मानिसहरूले त्यसरी नै हेरेका थिए।

अन्नतः डीआईजी सुवेदीले कमाण्ड गरेको प्रहरी टोलीले भागरथी हत्याकाण्डको सफल अनुसन्धान गरेको छ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार ००:००