२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Breaking

देशभर १८२ बन्दकर्ता पक्राउ, २५ सवारी तोडफोड


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares


काठमाडौं, २२ माघ ।  नेकपाको प्रचण्ड – माधव समूहले आज गरेको आमहड्तालमा देशभरबाट १८२ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा मगरलगायत पार्टीकी दोस्रो तहका नेताहरू पनि पक्राउ परेका हुन् ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको पहरीले जनाएको छ ।
सडक अवरोध गरेको र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी सुशीलसिंह राठौरले काठमाडौं उपत्यकामा ८४ जना बन्दकर्ता पक्राउ गरिएको बताएका छन् ।
एक जना भक्तपुर र बाँकी ८३ जना काठमाडौंमा पक्राउ परेका हुन्।
आन्दोलनकारीले दिउँसो थानकोटमा दुई वटा ट्रक, चाबहिलमा एउटा मिनी बस, गोंगबु बसपार्कमा एउटा टाटा सुमो, टाउनप्लानीङमा एउटा ट्याक्सी र कलङ्कीको मकालु पेट्रोल पम्प भएको आसपासमा दुई वटा सवारीमा तोडफोड गरेको एसपी राठौरले बताएका हुन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता डीएपी विपीन रेग्मीले आमहड्तालको नाममा उच्छृङ्खल गतिविधि गर्ने ९ जनालाई नियन्त्रणमा लिएको बताए। ३ जना सुनसरीका र ६ जना मोरङको रहेको रेग्मीले बताएका छन् ।

प्रदेश नम्बर – २ मा ६३ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सामा ३१ जना, धनुषामा ११ जना, बारामा ८ जना, रौतहटमा ६ जना, महोत्तरीमा ५ जना र सर्लाहीमा २ जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए।
उनले जनकपुरको शिवचोकमा सवारी तोडफोड भएपछि भएको झडपमा परी पूर्वसांसद रामचन्द्र झासहित ६ जना र दुई जना प्रहरी घाइते भएको बताएका छन् ।

बागमति प्रदेशकी प्रहरी प्रवक्ता एसएसपी मीरा चौधरीले आमहड्ताल भन्दै बाधा अवरोध गरेका ९ जनालाई हामीले नियन्त्रणमा लिएको बताए। त्यसमध्ये काभ्रेमा ८ जना र मकवानपुरमा एक जना पक्राउ गरिएको बताए।
आन्दोलनकारीहरूले चितवनमा ११, मकवानपुरमा ३ र सिन्धुलीमा २ वटा सवारी साधनमाथि तोडफोड गरेको प्रवक्ता चौधरीले बताएकी छिन् ।

केही ठाउँमा जाने सवारीलाई स्कटिङ गरेर गन्तव्यसम्म पु¥याएको पनि उनको भनाइ रहोको छ ।
गण्डकी प्रदेशका डीउसपी राजकुमार सिंहले प्रदेशभर आमहडताल शान्तिपूर्ण रहेको तर, तनहुँले १६ जना र कास्की प्रहरीले एक जनालाई पक्राउ गरिएको बताएका छन् ।
कर्णाली प्रदेशका एसपी माधवप्रसाद श्रेष्ठले पनि आन्दोलनको प्रभाव परेको र तोडफोड जस्ता गतिविधि आन्दोलनकारीबाट नभएको बताएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता मुकेशकुमार सिंहले कञ्चनपुरको झलारीमा बन्दाकर्ताबाट एउटा बसमा ढुंगा प्रहार भएको र अन्यन्त्र शान्तिपूर्ण भएको बताइएको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००