म्याग्दीको मङ्गला गाउँपालिका–५ किमचौरमा रहेको विष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई रु दुई लाख साठी हजार सहयोग प्राप्त भएको छ ।
मङ्गला–५ पिपलबोटका वीरेन्द्र बुढाथोकीले रु दुई लाख, मङ्गला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले रु ५० हजार ५५ र मङ्गला–४ थर्पु घर भई हाल बेलायत बस्नुहुने धनकुमारी छन्त्याल रोकाले रु १० हजार सहयोग गरेका हुन् । विसं २०१७ मा भूपूजिल्ला सभापति रामबहादुर बुढाथोकीको पहलमा स्थापना भएको यो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गरिएको प्रअ गुप्तबहादुर रोकाले बताएका छन् । सहयोगदाता वीरेन्द्र रामबहादुरका छोरा हुनुहुन्छ ।
९० विद्यार्थी रहेको यो विद्यालयमा १–५ तहको मात्र दरबन्दी छ । ६ देखि ८ सम्मको कक्षा सञ्चालनका लागि तीन निजी स्रोतका शिक्षक राखिएको छ । निमाविमा एक राहत, प्रावि स्थायी एक, प्रावि राहत दुई र एक करार शिक्षक छन् । तीन शिक्षकको तलबभत्ता चन्दा, देउसीभैलो खेलेर जुटाउने गरिएको व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र फगामीले बताएका हुन् । प्राप्त सहयोग रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ ।
विसं २०७५ को गाउँपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक डिबी घर्तीले बताए । दरबन्दीअनुसार शिक्षकको व्यवस्था भएमा सिकाइ उपलब्धि र गुणस्तर सुधार गर्न सहयोग पुग्ने उनले बताएका हुन् ।
प्रतिक्रिया