कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गएका छन् । प्रतिष्ठानको सङ्गठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिका बारेमा उहाँले कर्मचारीसँग जानकारी लिएका थिए । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका जिल्लाको नेतृत्व गरेको प्रतिष्ठानमा जनशक्ति अभाव रहेको बताए ।
“चार वरिष्ठ वैज्ञानिक दरबन्दी रहेको प्रतिष्ठानमा म पनि काजमा आएको छु”, वैज्ञानिक चालिसेले भने, “१८ कर्मचारीमा मात्र नौ कार्यरत छन् ।” जनशक्ति अभावले प्रतिष्ठानको अवस्था बिजोग रहेको उनको भनाइ छ । उनका अनुसार प्रतिष्ठानमा न कर्मचारी आउने न त सरकारले यसको कुनै चासो लिएको छ ।
मन्त्री केसीले प्रतिष्ठानबारे जानकारी लिँदै देखिएका समस्या समाधानका लागि सङ्घीय तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पहल गर्ने बताएका छन् । नेपालको एक मात्र अनुसन्धान संस्थाको रुपमा गोठीचौरमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठान कर्णालीको ठूलो सम्पत्ति भएको र यसको संस्थागत विकासले मात्र यहाँका जनताको समृद्धिमा सहयोग पुग्ने मन्त्री केसीको भनाइछ ।
त्यस्तै, जुम्ला सदरमुकामदेखि डोल्पा जोड्ने सडक अनुगमन गर्नुभएको मन्त्री केसीले जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित त्यहाँ सम्पूर्ण कर्मचारीसँग भेटघाट गरी जनताको सेवा प्रवाहमा खटिन निर्देशन दिएका छन् ।
मन्त्री केसीसहित अनुगमन तथा अध्ययनमा पूर्वराज्यमन्त्री गोमा कुँवर, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा, गोठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्मासहितको सहभागिता थिए ।
प्रतिक्रिया