भदौ १४ । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो कटकुवा जंगलको भीरमा ३ सय गाई गोरु खसालिएको विषय अहिले चर्चामा छ । बिहिबार राती टकबाट ती गाईगोरु खसालिएको पाइएको छ ।
यसमा नेपालगञ्ज उपमहानगरपालिकाको चरम लापरवाही रहेको पाइएको छ । उपमहानगरको लापारबाहिका कारण सुर्खेतमा दर्जनौँ गाई र गोरु मरेका हुन् । भीरबाट खसालिएको मध्ये २५ गाई र गोरु मरिसकेका छन् ।
स्थानीयवासीले गाई र गोरुलाई भिरबाट लडाएर मारेको भन्दै विरोध जनाएको छ । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिए । “नेपालगञ्ज उपमहानगरपालिकाको गाई र गोरु व्यवस्थापनमा लापरवाही देखिन्छ, गाई र गोरुलाई बीच जङ्गलमा छाडिएको छ, हामीले कानूनी कारवाही प्रक्रिया शुरु गरेका छौँ”, उहाँले भने ।
सात जना पक्राउ
गाई र गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रावलले बताए । “चार ट्रक नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ”, उनले भने । रावलले मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा दोषीलाई कारवाही गरिने जानकारी दिए। मुलुकी अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ अनुसार गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी उत्तम शर्माका अनुसार अहिलेसम्म वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गढीको भिरमा १७ गाई र गोरु मृत फेला परेका छन् । सुर्खेतको सुब्बाकुनामा आठ गाई र गोरु मृत तथा तीन गाई र गोरु घाइते फेला परेका छन् । उनले गाई, गोरु र बाच्छा गरी १३० घाइते फेला परेको जानकारी दिए । अहिले वीरेन्द्रनगर नगरपालिकाले घाइते गाई, गोरु र बाच्छाको उपचार थालेको छ । मृत भेटिएका गाई र गोरुको मुचुल्का उठाई शवपरीक्षण गरी जङ्गलमा गाड्न थालेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।
यसरी पठाइएको थियो गाई र गोरु
नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको जानकारी दिए । “गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियोँ”, पौडेलले भने ।
आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उने बताए । “नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाएका हौँ”, पौडेलले भने । अझै सडकमा सयौँ छाडा गाईवस्तु रहेको र तिमध्ये धेरैजसो भारतीय क्षेत्रबाट आएको उनले जानकारी दिए ।
“बीच बाटोमै मरेपछि चालकले ट्रकबाट गाई झारेको जानकारी पाएका छौँ”, पौडेलले भने । उनले गाई र गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको बताए । घाइते गाई र गोरु बाटोमा छाडेपछि यताउति गएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ । “भिरमा मरेको अवस्थामा कसरी गाई र गोरु पुगे, यसबारे अनुसन्धान भइरहेको छ”, रावलले भने। घटना सार्वजनिक भएपछि शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले विज्ञप्ति जारी गरि दोषीलाई कानूनी कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया