२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

ग्लोबल

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ सकुशल उद्धार



जाकार्ता, इन्डोनेसिया, ६ भदौ (रासस÷एएफपी) ः इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा स्थानीय समय अनुसार बिहीबार साँझ आगलागी हुँदा कम्तीमा २२ जना वेपत्ता भएका एक अधिकारीले बताएका छन् । शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत २५५ जनालाई सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा २२ जनाको खोजी कार्य भइरहेको बताएका छन् । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए । सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले एएफपीलाई बताउनुभयोे, “यात्रारत २७७ जनामध्ये २५५ जनालाई सकुशल उद्धार गरिएको छ भने हराएका केही व्यक्तिहरूको खोजी भइरहेको छ ।” डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने बिषयमा अनुसन्धान शुरू भइसकेको नुग्रोहोले बताउनुभयो । करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । जाभाको उत्तरी तटमा गत जुनमा भएको यस्तै एक डुङ्गा दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको थियो । गत बर्ष सुमात्रा टापूमा जाने क्रममा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा १६० जनाको मृत्यु भएको थियो । यस्तै सन् २००९ मा सुलावेशी र बोर्नेओकोबीचमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ३०० जनाको मृत्यु भएको थियो ।

प्रकाशित : ६ भाद्र २०७६, शुक्रबार ००:००