१ मंसिर २०८१, शनिबार । November 17, 2024

ग्लोबल

रूसी सेनाले ५० वर्ष पहिले लेखेको पत्र अमेरिकामा सुरक्षित भेटियो



वासिङ्टन, २ भदौ (रासस÷एएफपी) ः एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० बर्ष पहिले रूसी डुङ्गाचालकले लेखेको पत्र भेटिएको छ । रूसी भाषमा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि बोतलसहित पत्र भेटेका अलास्काका टाइलर आइभनोफले पत्रलाई अनुवाद गरिदिन भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । पत्र रुसी पानी जहाजमा चालकदलको सदस्य रहेका रुसी समुद्री सैनिकले लेखेका थाहा भएको छ । आफूले रक्सीको बोतलमा कागजको टुक्राजस्तो बस्तु देखेपछि बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको आइभनोफले बताउनुभयो । पत्र ५० बर्ष पहिले रूसी भाषामा लेखिएको पत्रमा अज्ञात व्यक्तिलाई सङ्केत गर्दै ‘यात्रा शुखमय रहोेस्’ लेखेर समुद्रमा छाडिएको विश्वास गरिएको छ । अचम्मको कुरा के छ भने उक्त पत्र लेख्ने रूसी नागरिक अहिले ८६ बर्ष पुगेका र जीवितै रहेको पाइएको छ । “हार्दिक नमस्कार ! रूसी ‘फार इस्ट फ्लिट भीआरएक्सएफ सुलाक’ बाट,” पत्रमा लेखिएको छ । “हामी तपाईको राम्रो स्वास्थ्य र लामो आयुको कामना गर्दर्छौँ । २० जुन १९६९ ।” पत्र अमेरिकी सामाजिक सञ्जालमा आएपछि यसलाई रुसी पत्रिका नोम नजेटले यससम्बन्धी समाचार छापेको थियो । पत्रसम्बन्धी समाचार रूसमा भाइरल बनेपछि रुसी टेलीभिजन रोसिया १ का खोजी पत्रकारले पूर्व सोभियत सैनिक पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको क्रिमियास्थित घरमा पुगेर पत्रबारे सोध्दा आफुले उक्त पत्र लेखेको पुष्टि गर्नुभयो । अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा क्याप्टेन बोत्सानेन्कोले आँसु झार्नुभएको थियो । उहाँले रुसी टेलिभिजन रोसिया वानसँग भन्नुभयो, “हो, यो मेरो लेखाइ हो ।” पत्र कुनै अमुक व्यक्तिलाई लेखिएको नभै अपरिचित अर्थात् जसले प्राप्त गर्छ उसका लागि गरिएको सम्बोधन भएको उहाँले बताउनुभयो ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार ००:००