१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन नहुँदा यात्रु सास्तीमा



सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको मार्ग व्यवस्थापन गर्न सकेको छैन । यसरी मार्ग व्यवस्थापन नहुँदा यात्रु मर्कामा परेका छन् । मार्ग निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले गठन गरेको समितिले प्रतिवेदन दिएको वर्ष दिन वितेपनि सो बमोजिम अझै मार्ग निर्धारण हुन सकेको छैन् ।

मन्त्रालयले गत वर्ष नै यातायात व्यवस्था विभागका प्रतिनिधि, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायात विज्ञलगायत सरोकार भएकालाई समेटेर सो समिति गठन गरेको थियो । उक्त समितिले प्राथमिक, सहायक र ग्रामीण गरेर तीन खालका मार्ग बनाउनुपर्ने सुझाव दिएको यातायात व्यवस्था कार्यालय साना ठूला सवारी साधान प्रमुख वसन्त पन्थीले बताउनुभयो ।

प्राथमिकमा नौ मार्ग तय भए पनि सहायक र ग्रामीणमा कति मार्ग राख्ने र एउटामा कति र कस्ता सवारी साधन सञ्चालन गर्न दिने भन्ने निर्धारण भइनसकेको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । उहाँका अनुसार कुन मार्गमा कति वटा र कस्ता–कस्ता सवारी साधन आवश्यक पर्छ भन्ने प्राविधिक अध्ययनसमेत भइरहेको छ । प्रवक्ता खनालले भन्नुभयो, “त्यसको नतिजा आएपछि नै मार्गको निर्धारण हुनेछ ।

कुनै पनि ठाउँमा त्यहाँको जनसङ्ख्या, सडकको अवस्था, सडक चौडाइलगायतलाई आधार मानेर मार्ग निर्माण भइरहेको र शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रसम्मका यात्रुलाई सुविधा दिन मार्ग निर्धारण गर्ने तयारी भइरहेको उहाँको भनाइ थियोे ।

विसं २०७५ वैशाखसम्म सार्वजनिक सवारी साधनलाई मार्ग इजाजत दिने काम यातायात व्यवसायी समितिले गरेका थिए । गतवर्ष सरकारले महासङ्घ र समितिको एकाधिकार हटाउने निर्णय गरेसँगै यातायात व्यवस्था कार्यालयले मार्गका लागि अनुमति दिइरहेका छन् । सरकारले मार्ग निर्धारण गरिनसकेकोले अहिलेसम्म व्यवसायीले मागेकै मार्गमा सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका छन् ।
–––

प्रकाशित : ८ असार २०७६, आइतबार ००:००