३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

साइबर हमलाको आशंकामा अमेरिकामा राष्ट्रिय संकटकाल



वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमलाको आशंकामा संकटकालको घोषणा गरेका छन् । राष्टट्रपति ट्रम्पले एक आपतकालीन आदेश जारी गर्दै साइबर हमलाबाट कम्प्युटर बचाउन भन्दै राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।

नयाँ आदेशअनुसार ट्रम्पले अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पु¥याउने अनुमान गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लगाइने छ ।

कार्यकारी आदेशमा कुनै कम्पनीका नाम नलिइएको भएपनि यो आदेश मार्फत चिनियाँ कम्पनी हुवावेलाई निशाना बनाउन खोजेको बिश्लेषकहरुले जनाएका छन् ।

अमेरिकासहितका केही पश्चिमा राष्ट्रहरुले चिनियाँ कम्पनी हुवावेले उत्पादन गरेका उपकरणहरु प्रयोग गरी चीनले आफ्ना आन्तरिक गतिविधिको निगरानी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । हुवावेले भने यो आरोपको खण्डन गर्दै आएको छ ।

चीन र अमेरिकाबीच चर्किदो व्यापार युद्धकाबीच अमेरिकाको यो घोषणा आएको हो । अमेरिकी वाणिज्य मन्त्रालयले हुवावे र यससँग सम्बन्धित ७० वटा कम्पनीहरूलाई कालो सूचीमा राख्न लागिएको बताएको छ ।

ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा ‘सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने’ उद्देश्य लिएको उल्लेख गरिएको छ ।

आदेशले वाणिज्य मन्त्रीलाई ‘राष्ट्रिय सुरक्षाको लागि अस्वीकार्य हुने जोखिमलाई बढावा दिने कारोबारमाथि प्रतिबन्ध लगाउने’ अधिकार प्रदान गरेको छ ।

प्रकाशित : २ जेष्ठ २०७६, बिहिबार ००:००