३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ




काठमाडौं, १२ वैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताउनुभएको छ । 
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।संविधानमा उल्लेखित प्रदेश तथा स्थानीय तहका अधिकार संघीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेको बताउँदै उहाँले भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहबीच केही शक्ति टकराब हुन सक्छन् । यसलाई छलफलमार्फत समधान गर्नुपर्छ ।’संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा सिद्धान्तत कुनै समस्या नभएको अध्यक्ष तिल्सिनाले बताउनुभयो । ‘अहिलेको परिवर्तित व्यवस्था सक्रिय राजनीतिक दलहरुकै योगदानबाट प्राप्त भएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले सिद्धान्तत सबैले स्विकार गरेको यो व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्न समन्वय जरुरी छ । त्यसका लागि सहजिकरण गर्न राष्ट्रिय सभा तयार छ ।’अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभामा तीन तहको समन्वय सम्बन्धि विधयेक दर्ता भएको जानकारी दिँदै सो विधयेक पास भएपछि केही सहज हुने अपेक्षा राख्नुभयो ।   राष्ट्रिय सभा स्थानीय तह, जिल्ला समन्वय र प्रदेश सभाको प्रतिनिधित्व गर्ने सदन भएकाले राष्ट्रिय सरोकार समितिमार्फत सात वटै प्रदेशमा यस्तो अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यस्तो कार्यक्रमले तीन तहको समन्वयमार्फत स्थानीय तह र प्रदेशलाई व्यवहारिक रुपमा कसरी बलियो बनाउने भन्ने अनुभव आदानप्रदान भएको बताउनुभयो । त्यसैगरी उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन पनि प्रदेश तथा स्थानीय तहका प्रतिनिधिको सुझाव आवश्यक रहेको औंल्याउनुभयो । एक अर्को प्रशंगमा राजनीतिक दलहरु मिलेर समाजवाद उन्मुख संविधान जारी गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले यसको कार्यन्वयनमा पनि सबै एक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान कार्यन्वयनको पहिलो चरणका रुपमा तीन तहको चुनाव सम्पन्न भई सरकार बनेको र दोस्रो चरणमा ऐन निर्माणको काम तिब्र गतिमा भइरहेको जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले वैशाख १६ गतेदेखि संसदको अधिवेशन सुरु हुने जानकारी दिँदै अब पनि कानुन निर्माणको कामले निरन्तरता पाउने बताउनुभयो ।कार्यक्रममा राष्ट्रिय सभाअन्तर्गत विपक्षी दलका नेता सुरेन्द्र  पाण्डेले अन्तक्र्रियाबारे प्रकाश पार्नुभएको थियो भने सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो । राष्ट्रिय सभाका सदस्य, प्रदेश नं ३ का सभामुख, प्रदेश मन्त्री, उपसभामुख, सांसद, प्रदेश ३ अन्तर्गतका स्थानीय तहका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा संविधानसभा सदस्यद्वय रमेश लेखक र खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित : १२ बैशाख २०७६, बिहिबार ००:००