
वासिङटन, १५ साउन (रासस-सिन्ह्वा) अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् । पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ । त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पु¥याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी पुग्दा सो पसलका दुई जना कर्मचारी गोली लागेको अवस्थामा ढलेका र उनीहरुको सोही पसलमै निधन भएको जनाइएको छ । साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंसक व्यक्तिहरुबाट गराइएको एक दुर्घटना भनी टिप्पणी गर्नुभएको छ । त्यस घटनामा परी भएको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै उहाँले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।
प्रतिक्रिया