१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

मुख्य खबर

बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दश पत्रकारलाई



यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारबाट राससका सिलवाल, नागरिक दैनिकका हिमाल लम्साल (संयुक्त उपत्यका) र खगेन्द्र अधिकारी (उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गर्ने निर्णय गरेको हो । रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का (रेडियो उज्यालो एफएम) र उपत्यका बाहिरबाट रुमा रिजाल (रेडियो सप्तकोशी एफएम) लाई प्रदान गर्ने भएको छ । त्यस्तै टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल (बुद्ध आवाज टेलिभिजन, (कपिलवस्तु), जनता टेलिभिजनबाट धनमाया भुसाल (नवलपरासी (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) र कान्तिपुर एफएमका शर्मिला खनाललाई प्रदान गरिने भएको छ । पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनोट समितिले यही असार १७ गते बसेको बैठकले उक्त १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतालाई दिने भएको हो । छनोट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई मूल्याङ्कनको आधार बनाएको थियो । सो पुरस्कार यही असार २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले प्रदान गर्नुहुनेछ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । –––

प्रकाशित : २५ असार २०७६, बुधबार ००:००