काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ८ का बासिन्दाको दशकौंदेखिको खानेपानी समस्या समाधान गर्न पानी वितरण सुरु भएको छ । बुढानीलकण्ठ सहलगानी खानेपानी तथा सरसफाई आयोजनाबाट सोमबारदेखि घरघरमा पानी वितरण सुरु गरिएको हो ।
यो आयोजनामा बुढानीलकण्ठ ८ स्थित भ्याली पब्लिक स्कुल आसपासको क्षेत्र हुदै धोबीखोला पश्चिमको १ हजार ५० घरधुरी समेटिएको छ । पहिलो चरणमा ३ सय घरधुरीमा पानी वितरण गरिएको र केहि दिनभित्रै बाँकी घरधुरीमा पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।
काठमाण्डौ उपत्यकाको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले नसमेटेको यस क्षेत्रमा ७० प्रतिशत सरकारी र ३० प्रतिशत उपभोक्ता सहलगानीको मोडेलमा यो आयोजना सञ्चालनमा ल्याइएको हो ।
आयोजनाको कुल लागत ९ करोड ८७ लाख ८४ हजार १ सय ६६ रहेको छ । यसमा उपभोक्ताहरूबाट नगद १ करोड २३ लाख ४८ हजार २० र बाँकी श्रमदान व्यहोरिएको छ ।
आयोजनामा ४ सय ५० घनमिटर क्षमताको एउटा ओभरहेड ट्यांकी, तीन वटा डिप बोरिङ, तीन सेट वाटर ट्रिटमेण्ट प्लाण्ट, एउटा अफिस भवन र एउटा पम्प अपरेशन हाउस निर्माण गरिएको छ । तीन वटा डिप बोरिङमध्ये पहिलो ४ सय मिटर टाढा, दोस्रो ३ सय मिटर टाढा र तेस्रो ओभरहेड ट्यांकी परिसरभित्रै रहेका छन ।
यहाँको खानेपानी समस्या समाधान गर्न सात वर्ष अघि सम्भाव्यता अध्ययन गरेर काम सुरु गरिएको र आज उपभोक्ताहरुको घरघरमा पानी पुगेको देख्दा अत्यन्तै खूसी लागेको यस खानेपानी उपभोक्ता समितिका अध्यक्ष रविन्द्र थापाले बताए । उनले वितरण हुन बाँकी क्षेत्रहरुमा समेत कनेक्सनको काम धमाधम भइरहेकाले चाडै नै सबै उपभोक्ताको धारामा पानी पुग्ने दाबी गरे ।
निर्माण व्यवसायी कम्पनी जीआरडी एलपिएस जेभीका म्यानेजिङ डाइरेक्टर देवेन्द्र प्रसाद चौलागाईका अनुसार तीन वटै डिप बोरिङबाट पानी फिल्टरिङ भएर ओभरहेड ट्यांकीमा जम्मा हुन्छ र त्यहाँबाट दुई वटा मुख्य पाइपमार्फत विभिन्न शाखा पाइपहरू हुँदै घरघरसम्म पानी वितरण हुनेछ ।
स्थानीय बासिन्दा उपेन्द्र कार्कीले पानीको लागि अब व्यक्तिगत रुपमा बन्दोबस्त गर्नुपर्ने बाध्यता सकिएकोमा खूसी व्यक्त गर्दै भने ‘यस क्षेत्रमा पानीको निकै ठूलो समस्या थियो । व्यक्तिगत रूपमा गर्जो टार्नुपर्ने अवस्था थियो । यो पानी वितरण प्रक्रिया सूरु भएपछि ठूलो राहत मिलेको छ ।’
पानी वितरण सूरुवात कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्राविधि रेवन्त चनला, उपभोक्ता समितिका अध्यक्ष रविन्द्र थापा, सचिव निश्चल अधिकारी, समितिका पदाधिकारीहरु, निर्माण कम्पनीका प्राविधिकहरु, निर्माण व्यवसायी र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिक्रिया