२३ मंसिर २०७८, बिहिबार । December 9, 2021

मुख्य खबर

उपप्रधानमन्त्री निधि र मोरिसस्का पूर्वराष्ट्रपतिबीच भेटघाट



काठमाडौँ, १२ माघ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मेरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच शिष्टाचार भेटवार्ता भएको छ ।आज बिहान गृहमन्त्रालयमा भएको भेटमा मोरिससका पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाबारे चासो राखेका थिए । मेड्रिड क्लबका उपाध्यक्षसमेत रहेका उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव अन्तर्राष्ट्रिय समुदायका लागिसमेत उदाहरणीय र उपयोगी भएको बताएको मन्त्रालयले जनाएको छ ।
त्यसअवसरमा उपप्रधान निधिले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयन अन्तिम चरणमा रहेको बताए ।
यसैबीच आजै उपप्रधानमन्त्री निधि र नेपालका लागि कतारका राजदूत युसुुफ बीन मोहम्मद अल हेलबीच भेटघाट भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो । उनले सन् २०२२ मा कतारमा हुने विश्वकपको तयारीका सिलसिलामा नेपाली कामदारको योगदानको चर्चा गरेको थियो । त्यस अवसरमा गृहमन्त्री निधिले नेपालबाट भोलिका दिनमा दक्ष जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्ने विषयमा कतार सरकारको ध्यानाकर्षण गराएको थियो ।
यस्तै आजै, उप्रधानमन्त्री निधि र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरबीच भेटवार्ता भएको भयो । भेटमा नेपाल–इजरायल सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा उपप्रधानमन्त्री निधिले इजरायल सरकारले हरेक वर्ष नेपाली विद्यार्थीलाई कृषिसम्बन्धी अध्ययनका लागि अवसर दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा अन्य क्षेत्रमा पनि अनुभव आदानप्रदानको वातावरण बनाउनुपर्नेमा ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित : १२ माघ २०७३, बुधबार