१३ मंसिर २०७८, सोमबार । November 30, 2021

बिचार

लिम्बू संस्कृतिमा चासोक तङनाम



 15451456_946539422145230_2027297737_n

चार किराँतीहरू लिम्बू,राई, सुनुवार र याख्खा जातीले किराँती महान पर्वका रूपमा हरेक बर्षको मङ्सिर पुर्णिमाको दिन मनाउँदै अाएको किराँती एक महान चाड नै लिम्बू संस्कृतिमा चासोक तङ्नाम हो।त्यहि चासोक तङनामलाई नै नेपाली भाषामा उधौली पर्व भनिन्छ।र यसलाई राई संस्कृतिमा- साकेवा, याक्खा संस्कृतिमा- चासुवा र सुनुवार संस्कृतिमा- फोलस्यान्दर पर्वका रूपमा मान्दै अाएका छन्।लिम्बुभाषिक शब्द चासोक तङ्नामलाई नेपाली भाषामा अर्थान्तरण गर्दा चासोकको अर्थ न्वाङगी र तङ्नामको अर्थ पुजा/ पर्व हुन्छ। यसै न्वाङगी पर्व वा न्वङगी पुजालाई नै उधौली पर्व भनिन्छ। प्रकृति पुजक जातीका रूपमा चिनिएको लिम्बू किसानीहरूको खेतिपातीको सिजनसँग सम्बन्धित चासोक तङनाम हेमन्त ऋतुको सुरूवातसँगै पैयुँ फुल्न थालेपछि सुरू हुने उँधौली याम अर्थात अन्नबाली उठाउने समयमा लिम्बू रितिथिती अनुसार प्रकृतिलाई बालीपुजा गर्ने परम्परा नै हाल चासोक तङनामका रूपमा बिकसित भएर अाएको हो। यो पर्व गाउँघरमा न्वाङगी पुजाका रूपमा प्रचलित छ। लिम्बू संस्कृतिको त्यहि न्वाङगी पुजालाई नै लिम्बू भाषामा चासोक तङनाम भनिन्छ। किराँत लिम्बू मिथक अनुसार अादिम कालमा किराँती सावायेत्हाङहरू अाफ्नो जीवनचर्याका लागि कन्दमूल काँचै खाएर जीवनयापन गर्ने गर्दथे,फलस्वरूप विभिन्न रोगका सिकार हुन्थे। त्यसबाट मुक्ति पाउन सावायेत्हाङहरूले तागेरा निङ्वा फू माङ ( प्रकृति) को पुजा गरे। यसबाट प्रकृति खुसी भएर कोदो, जुनेलो,धान, घैँया अादि विउबिजन सावायेत्हाङहरूलाई प्राप्त भयो।यसरी प्राप्त भएको बिउविजनलाई तिनै सावायेत्हाङहरूको एकमात्र चेली सिवेरा याबुङकेक्माले काठको खन्ती(खन्ने अौजार)बनाई जङ्गल फाँडेर छरि फुलाउन फलाउन सुरू गरे र फलेको अन्न चाक्कालुङ(एक प्रकारको सेतो कडा ढुङ्गा) बाट अागो पारेर पकाएर अाफ्ना माईतीहरूलाई खान दिए यसबाट सावायेत्हाङहरू कुपोषण र रोगव्याधीबाट मुक्त भए।यसरी अाफ्नो चेलीको बौद्धिक क्षमताबाट खुसी भई प्रकृति पछिको अर्को देवता चेलीलाई मानी हरेक बर्ष बाली पाकेपछि प्रकृति र चेलीलाई चढाएर मात्र अाफूले खाने बाचा गरे। त्यहि परम्परा नै हाल चासोक तङनाम पर्वका रूपमा किराँत लिम्बुहरूले मनाउँदै अाएका छन्। चासोक तङनाममा प्रकृति पुजक किराँत लिम्बुहरूले अाफ्नो संस्कृति अनुसार विभिन्न देवदेवताहरूलाई नयाँ अन्न चढाएर पुजा गर्छन।जसमा जङ्गली देवताका रूपमा-ताम्भुङ्ना, लेकमा बस्ने देवताका रूपमा-तक्सङ्बा,पहाडकी देवीका रूपमा-मुदेनहाङमा , तराईकी देवी-तेन्छामा, जलदेवता-वाजमा, संसार घुमिहिड्ने देवी- खजमा, रिसालु देवता-मिक्सेक, सुर्यदेवता- थुङ्दाङ्बा, अादिममानव बाँदर देवता- सबा साम्माङ/ किविम्बा, मातृदेवी- युमासाम्माङ, पितृदेव-थेबासाम्माङ, घरदेवता- हिमसाम्माङ ईत्यादि देवदेवताको पुजा गरिन्छ।यसरी पुजा गर्दा केराको पातको लास्सो माथि नयाँ अन्नबाली राखेर चोयाबाँसको हाँगाको सानो तोङ्बा बनाएर त्यसमा खेसुङसोन्या( कोदोको दाना, मर्चा रअलिकति पानी हालेर बनाईएको जाँडको रूप) हालेर न्वाङगी पुजा गरिन्छ।वास्तवमा यहि नै चासोक तङनाम हो।(Note: सत्यहाङ किराँत धर्म र परम्परागत मौलिक किराँत धर्मअनुसार पुज्ने विधि फरक छ।) यसरी न्वाङगी पुजा परम्परा पर्वमा विकसित हुँदै चासोक तङनाम पर्वको रूपमा हाल देश बिदेशमा लिम्बु जातीहरूले मङ्सिर पुर्णिमाको दुई दिन अघिबाट मनाउन सुरू गर्छन्।यो पर्वलाई सर्वप्रथम किरात याक्थुङ चुम्लुङले राष्ट्रिय पर्वका रूपमा स्वीकृति मागे पनि नेपाल सरकारले स्वीकृत नगरेपछि २०५८ सालमा चार किराँती समुदाय किरात याक्थुङ चुम्लुङ ,किराँत राई यायोक्खा, किराँत याक्खा छुम्मा र किराँत सुनुवार सेवा समाज मिलेर हरेक मङ्सिर पुर्णीमाको दिन सार्वजनिक विदा माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएपछि हरेक बर्ष मङ्सिर पुर्णिमाको दिन बिदा दिने चलन चल्दै अाएको छ। यसरी हरेक बर्ष चासोक तङनाम मङ्सिर पुर्णिमाको दुई दिन अघिबाट मनाउन सुरू गरि तीन दिनसम्म धुमधामसँग मनाईन्छ।यस पर्वमा पुजाअाजाको अलवा विभिन्न खाद्य परिकारहरू बनाएर खानुका साथै सांस्कृतिक रमझम पनि गरिन्छ। यस पर्वका मुख्य परिकारहरू- चाम्रे, याङवेन ,फिलुङ्गेको अचार, फुदोको अचार, कोदोको तोङ्बा, जुनेलोको रोटी, तीनपाने रक्सी अादि मुख्य मानिन्छन्।त्यस्तै सांस्कृतिक रमझममा अाफ्नो संस्कृति बचाउन र बिकास गर्न धान नाच, च्याब्रुङ नाच,पक्लुङ(छेलो) मुन्धुमी साम्लो, ख्याली अादि गाएर सांस्कृतिक रमझम गर्दै धुमधामसँग चासोक तङनाम मनाईने गरिन्छ।

हाल: जापान

प्रकाशित : २९ मंसिर २०७३, बुधबार